बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगायो

User Image Prime TV News एक महिना अगाडि
Image of बाढीले  कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगायो

कास्की । कास्कीमा गएराति आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। बाढीले अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–बिरेठाँटी सडकखण्डमा मोदीखोलामाथि रहेका पुल बगाएको हो।

प्रहरीका अनुसार राति करिब २ः१५ बजे आएको बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरसम्म पुग्ने दुईवटा मेटल पुल बगाएको हो। बाढीले मन्दिरको आधा भागसमेत बगाएको बताइएको छ।

पुल बगेपछि मन्दिरमा रहेका एक जना पुजारी र दुई जना भक्तजन गरी तीन जना त्यहीँ फसेका छन्। उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु तथा तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थलमा पुगेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बाढीको बहाव तीव्र रहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। उद्धार टोलीले सुरक्षित रूपमा मन्दिरमा फसेका तीनै जनालाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ।