अफगानिस्तानमा बम विस्फोट, फैजाबादका नगर प्रमुखको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अफगानिस्तानको उत्तरपूर्वी बदख्सान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबिब उर रहमान मन्सुरको बम विस्फोटमा मृत्यु भएको छ।
बिहीबार भएको विस्फोटमा मन्सुरको सवारीसाधनलाई लक्षित गरिएको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बदख्सान प्रान्तीय अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार विस्फोटमा घाइते भएका मन्सुरको मृत्यु भएको हो। नगरपालिकाका एक कर्मचारीले पनि उनको कार्यालयनजिकै बम राखिएको र त्यसैबाट विस्फोट भएको बताएका छन्।
घटनाको जिम्मेवारीबारे प्रारम्भिक विवरणहरू भने फरक छन्। केही स्रोतका अनुसार सशस्त्र विपक्षी समूह नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ।
मन्सुरको हत्या बदख्सानमा पछिल्लो केही सातामा स्थानीय अधिकारी लक्षित भएको दोस्रो घातक आक्रमण हो। यसअघि प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख जबिउल्लाह अमिरीको गोली हानी हत्या गरिएको थियो। उक्त घटनाको जिम्मेवारी इस्लामिक स्टेट–खोरासानले लिएको थियो।
तालिबान नेतृत्वको अफगानिस्तानमा सन् २०२१ पछि सुरक्षा अवस्था सुधारिएको दाबी गरिँदै आए पनि विभिन्न क्षेत्रमा छिटपुट आक्रमण जारी छन्। बदख्सान पनि पछिल्लो समय सुरक्षा चुनौती र सशस्त्र गतिविधिका कारण संवेदनशील क्षेत्रका रूपमा देखिएको छ।







