सर्वोच्चको आदेशपछि सोमबार किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित उपस्थित गराइने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका विद्युतीय सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई पक्राउ गर्नुको कारण र उनीबाट बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठकी श्रीमती सरस्वतीले उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो। प्रहरीले उनको निवास तथा जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइललगायत विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको छ।
श्रेष्ठमाथि अनुसन्धानका लागि अदालतले बिहीबार तीन दिनको म्याद दिएको थियो। उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसमेत हुन्।







