धवलशमशेरपछि दुर्गा प्रसाईँ पनि नयाँ पार्टी गठनको तयारीमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएर धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठनको तयारी गरेसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गर्ने घोषणा गरेका छन्।
राणा र प्रसाईले एउटै राजनीतिक दल गठन गर्ने चर्चा चले पनि उनीहरूबीच सहमति हुन नसकेपछि दुवैले अलग-अलग पार्टी गठनको तयारी थालेका हुन्। राणाले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामक नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन्।
यता प्रसाईले पनि शुक्रबार सामाजिक सञ्जाल मार्फत आफ्नो नेतृत्वमा नयाँ पार्टी छिट्टै गठन हुने बताएका छन्। उनले समर्थक तथा शुभेच्छुकलाई केही समय धैर्य गर्न आग्रह गर्दै नयाँ दल सबै नेपाली नागरिकको साझा पार्टी हुने दाबी गरेका छन्।
प्रसाईका अनुसार प्रस्तावित पार्टी जात, धर्म र समुदायभन्दा माथि उठेर पीडित, शोषित तथा उत्पीडित नागरिकको हक, अधिकार र न्यायका लागि केन्द्रित हुनेछ। उनले पार्टीको राजनीतिक विचारधारामा ‘वैदिक सनातनी हिन्दु अधिराज्य’को अवधारणालाई समेत समेटिने बताएका छन्।
उनले विगतका राजनीतिक दलहरूले गरिबीको रेखामुनि रहेका नागरिक, भूमिहीन तथा सुकुम्बासी, उत्पीडित वर्ग र आर्थिक समस्यामा परेका सर्वसाधारणका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन्।
लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजको चर्को ब्याजका कारण घरबार गुमाउन बाध्य नागरिकको अवस्था अझै नाजुक रहेको प्रसाईँको भनाइ छ। यही वर्गका नागरिकका मुद्दालाई केन्द्रमा राखेर आफूहरू राजनीतिक अभियानमा अघि बढेको उनले बताएका छन्।
राप्रपाबाट अलग भएका नेताहरूलाई लक्षित गर्दै प्रसाईँले राजसंस्थालाई साक्षी राखेर नागरिकका मुद्दा उठाउँदै अघि बढेको दाबीसमेत गरेका छन्। नयाँ पार्टी गठनको तयारीसँगै प्रसाईँले अबको राजनीतिक यात्रामा आफूले उठाउँदै आएका नागरिकका मुद्दालाई संस्थागत रूपमा अघि बढाउने संकेत गरेका छन्।







