सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस
Prime TV News एक महिना अगाडि 
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले दाबी पेस गरेका छन्।
भट्टले नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन्। उनको नियुक्ति र शपथ आजै हुने तयारी रहेको जनाइएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
नेकपासँग निलम्बित सांसदबाहेक २० सांसद रहेका छन् भने एमालेसँग ११ सांसद छन्। दुवै दलको समर्थन जोड्दा भट्टको पक्षमा बहुमत पुग्ने देखिएको छ। एमालेको समर्थन पाएसँगै भट्टलाई मुख्यमन्त्री बन्न आवश्यक बहुमत जुटेको हो। अब प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी छ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि भट्टले प्रदेश सरकारको नेतृत्व सम्हाल्नेछन्। नयाँ सरकारको प्राथमिकता र मन्त्रिपरिषद् विस्तारबारे भने आगामी दिनमा टुंगो लाग्ने बताइएको छ।







