संसदीय समितिमा मर्यादित भाषा प्रयोग गर्न सभापति बास्कोटाको रुलिङ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले समितिको बैठकमा मर्यादित भाषा प्रयोग गर्न सांसद तथा आमन्त्रित व्यक्तिहरूलाई आग्रह गरेकी छन्।
समितिको बैठकमा पछिल्लो समय सांसदहरूले आमन्त्रित व्यक्तिहरूमाथि तिखो टिप्पणी गर्ने क्रम बढेको भन्दै सभापति बास्कोटाले बोल्दा विषयमा केन्द्रित हुन र भाषा तथा व्यवहारमा संवेदनशीलता अपनाउन रुलिङ गरेकी हुन्।
बैठकमा उनले समितिमा विभिन्न संगठन, मन्त्रालय तथा सरकारी निकायका प्रमुखहरूलाई आमन्त्रण गरिने भएकाले यहाँ प्रयोग हुने भाषा, शब्द र व्यवहारलाई आम नागरिकले समेत हेरिरहेको बताइन्।
उनले भनिन्, “समितिमा बोल्ने विषयमा विषयान्तर नभइकन र हामीले प्रयोग गर्ने भाषामा पनि त्यत्तिकै सचेत र संवेदनशील भएर विषय उठान गर्नुहुन्छ भनेर माननीय सदस्यहरू र आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु।”
सभापति बास्कोटाले संसदीय समितिमा हुने छलफललाई मर्यादित र जिम्मेवार बनाउन सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइन्। आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गर्ने कार्यसूची छ।
त्यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूचीसमेत रहेको छ।







