सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

User Image Prime TV News एक महिना अगाडि
Image of सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टीका खगराज भट्ट नियुक्त भएका छन्।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको जानकारी दिएका छन्। यसअघि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार साँझ आह्वान गरेका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। एमालेको समर्थन पाएपछि भट्टले आवश्यक बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।भट्टको नियुक्तिसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। अब मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नेछन्।