हिरालाल मृत्यु प्रकरणमा सरकारसँग १२ बुँदे माग

User Image Prime TV News एक महिना अगाडि
Image of हिरालाल मृत्यु प्रकरणमा सरकारसँग १२ बुँदे माग

काठमाडौ । वैकल्पिक आवासको व्यवस्था नगरी घरटहरा भत्काएर विस्थापित गरिएका ४७ वर्षीय हिरालाल हजारा दुसादको मृत्युको घटनाप्रति परिवार तथा अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।

घटनाबारे निष्पक्ष छानबिन र पीडित परिवारलाई राहत तथा पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित सरकारी निकायलाई १२ बुँदे मागपत्र बुझाइएको छ। मागपत्रमा वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काउँदा प्रभावित परिवार लामो समयदेखि मानसिक दबाब, असुरक्षा र अनिश्चितताको अवस्थामा बस्न बाध्य भएको उल्लेख छ।

केही वर्षदेखि बस्दै आएको घरटहरा भत्काइएपछि हिरालाल कहिले कीर्तिपुर त कहिले बोढे क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा बस्न बाध्य भएको परिवारको भनाइ छ। अधिकारकर्मीहरूले हिरालालले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे राष्ट्रिय मानव अधिकार आयोग वा स्वतन्त्र न्यायिक छानबिन समितिमार्फत अनुसन्धान गर्न माग गरेका छन्।

उनीहरूले उनको मृत्यु सामान्य घटना नभई राज्यको विस्थापन नीति, प्रशासनिक व्यवहार तथा भूमिहीन र अव्यवस्थित बसोबासीप्रतिको दृष्टिकोणसँग जोडिएको गम्भीर मानवअधिकारको विषय भएको बताएका छन्।

मागपत्रमा मृतकको अन्त्येष्टि खर्च सरकारले व्यहोर्नुपर्ने, उनलाई भूमि तथा आवाससम्बन्धी नागरिक आन्दोलनका ‘शहीद’ घोषणा गर्नुपर्ने तथा परिवारलाई दीर्घकालीन आर्थिक क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

त्यस्तै, संविधानप्रदत्त आवासको हकअनुसार परिवारलाई स्थायी बसोबासका लागि कानुनी स्वामित्वसहितको भूमि उपलब्ध गराउन, मृतकका बालबालिकालाई उच्च तथा प्राविधिक शिक्षासम्म पूर्ण छात्रवृत्ति दिन र परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्न माग गरिएको छ। आश्रित सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार तथा सामाजिक सुरक्षाको व्यवस्था गर्न पनि माग गरिएको छ।

पूर्वसूचना र वैकल्पिक व्यवस्थापनबिनै घरटहरा भत्काउने तथा प्रभावितलाई होल्डिङ सेन्टरमा सार्ने कार्य तत्काल रोक्नसमेत सरकारसँग आग्रह गरिएको छ। भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पारदर्शी छानबिन गरी स्थायी समाधान खोज्न र होल्डिङ सेन्टरको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगबाट नियमित अनुगमन गरी सार्वजनिक गर्न माग गरिएको छ।

परिवारका अनुसार घटनापछि भक्तपुरका प्रमुख जिल्ला अधिकारीले राति मन्त्री प्रतिभा रावलसँग टेलिफोन संवाद गराएका थिए। परिवारको दाबीअनुसार मन्त्री रावलले धनीपुर्जासहितको जग्गाका लागि पहल गर्ने आश्वासन दिएकी थिइन्।

यस्तै, प्रमुख जिल्ला अधिकारीले परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने जिम्मेवारी लिएपछि हिरालालको शव परीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको परिवारले जनाएको छ । अधिकारकर्मीहरूले आश्वासनमा मात्र सीमित नरही मृतक परिवारको पुनर्स्थापना, क्षतिपूर्ति र घटनाको जिम्मेवारी निर्धारण गर्न सरकारसँग माग गरेका छन्।