‘ए मेरो हजुर–५’को शुभमुहूर्त, बडीमालिका र खप्तडमा छायांकन हुने

User Image Prime TV News एक महिना अगाडि
Image of ‘ए मेरो हजुर–५’को शुभमुहूर्त, बडीमालिका र खप्तडमा छायांकन हुने

काठमाडौ । झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र 'ए मेरो हजुर–५'को शुक्रबार शुभमुहूर्त गरिएको छ।

ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्तको सट खिचेसँगै चलचित्रको छायांकन सुरु भएको हो। शुभमुहूर्तपछि निर्माण टोली छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गरेको निर्देशक झरना थापाले जानकारी दिएकी छन्।

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक तथा सांस्कृतिक धरोहरमा चलचित्र छायांकन गर्न पाउनु गौरवको विषय भएको बताएकी छन्। उनका अनुसार बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा पनि हो।

चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिनेछन्। यो जोडीको ‘ए मेरो हजुर’ शृंखलामा तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर–३’ र ‘ए मेरो हजुर–४’मा सँगै अभिनय गरेका थिए। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सुनिलकुमार थापा हुन्। कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्।

चलचित्रमा अनमोल र सुहानासहित दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी र आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ। रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर र एकदेव लिम्बूसहितको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।

‘ए मेरो हजुर’का अघिल्ला चारवटै शृंखलाले व्यावसायिक सफलता पाएका थिए। पहिलो शृंखला शिव रेग्मीले निर्देशन गरेका थिए भने दोस्रो शृंखलादेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी छन्। यसपटक भने निर्देशक थापा आफैं पनि अभिनयमा देखिने भएकी छन्।

‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनयमा फर्किन लागेकी हुन्। यद्यपि उनी पुरानै भूमिकामा देखिने हुन् वा नयाँ पात्रका रूपमा भन्ने विषय निर्माण पक्षले खुलाएको छैन। चलचित्र नयाँ वर्ष २०८४ को अवसर पारेर देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।