देउवाको ‘परिवर्तन आत्मसात्’ गर्ने अभिव्यक्ति राष्ट्रिय भेलामा केन्द्रमा राख्न शर्माको सुझाव

User Image Prime TV News एक महिना अगाडि
Image of देउवाको ‘परिवर्तन आत्मसात्’ गर्ने अभिव्यक्ति राष्ट्रिय भेलामा केन्द्रमा राख्न शर्माको सुझाव

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किएपछि जारी गरेको लिखित वक्तव्यमा उल्लेख गरेको ‘परिवर्तन आत्मसात् गर्ने’ र ‘युवालाई अघि बढाउने’ विषयलाई राष्ट्रिय भेलाको मुख्य एजेन्डा बनाउन प्रस्ताव गरेका छन्।

बिहीबार स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तनलाई आत्मसात् गर्ने र युवालाई अघि बढाउने धारणा सार्वजनिक गरेका थिए। त्यसैलाई स्मरण गर्दै शर्माले शुक्रबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवाको अभिव्यक्तिलाई पार्टीको आगामी छलफलमा केन्द्रमा राख्नुपर्ने बताएका हुन्।

शर्माले देउवाले देश फर्किएपछि सबैको कुरा सुन्ने र पार्टीमा एकताको वातावरण बनाउनुपर्ने अपेक्षा रहे पनि लिखित अभिव्यक्तिमा आएको परिवर्तन र युवा नेतृत्वसम्बन्धी धारणालाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

“उहाँको लिखित अभिव्यक्तिमा आएको परिवर्तन आत्मसात् गर्ने कुरा र युवा अघि बढाउने कुरा। यो दुवै कुरामा कांग्रेस अहिले छ। उहाँ स्वयंले व्यक्त गरेको त्यो अभिमत अहिले हुँदै गरेको सम्मेलनमा पनि केन्द्रमा राखियोस्,” शर्माले भने।

कांग्रेसको संस्थापनइतर पक्षले शुक्रबारदेखि साउन ३१ गतेसम्म काठमाडौंको सुकेधारामा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेला सुरु हुनुअघि कांग्रेसले पार्टी एकताका लागि हालसम्म गरेका प्रयासबारे शर्माले केन्द्रीय कार्यसमितिलाई जानकारी गराएका थिए।

शर्माले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई स्वीकार गर्नुपर्ने विषयमा पनि जोड दिएका छन्। उनले मुलुकमा ३६ वर्षका बालेन शाह प्रधानमन्त्री रहेको उल्लेख गर्दै कांग्रेस सभापति गगन थापा पनि सोही उमेर समूहको नेतृत्वमा रहेको बताए।

“३६ वर्षका युवा प्रधानमन्त्री भएको कुरा आत्मसात् गर्दै विधि र पद्धतिबाट कांग्रेस नेतृत्वमा आइपुगेका सोही उमेर हाराहारीका गगन थापालाई पनि आत्मसात् गरौं,” शर्माले भने, “पार्टी नेतृत्व स्वीकार नगर्ने हो भने गम्भीर प्रश्न उठ्न सक्छ।”

कांग्रेसभित्र नेतृत्व, पुस्तान्तरण र पार्टी एकताको विषयमा बहस तीव्र भइरहेका बेला शर्माको यो प्रस्ताव आएको हो। देउवाको पछिल्लो अभिव्यक्तिलाई आधार बनाएर पार्टीभित्र परिवर्तन र युवा नेतृत्वलाई कसरी अघि बढाउने भन्ने विषयमा राष्ट्रिय भेलामा थप छलफल हुने अपेक्षा गरिएको छ।