गगन थापाको नेतृत्वमा कांग्रेस अझ बलियो बन्छ : विश्वप्रकाश शर्मा

User Image Prime TV News एक महिना अगाडि
Image of गगन थापाको नेतृत्वमा कांग्रेस अझ बलियो बन्छ : विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टी थप बलियो र सबल भएर अघि बढ्ने दाबी गरेका छन्।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र देखिएका राजनीतिक तथा कानुनी विषय संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे। उनले संविधान, कानुन र पार्टी विधानको आधारमा समस्या समाधान गरिने बताए।

“सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिराख्नुभएको छ। देशभरिका साथीहरूले व्यक्त गर्नुभएको दृढता र भावनाको जगमा पूर्ण विश्वासका साथ भन्न सक्दछु, आगामी दिनमा विकास भएर जाने जे हाम्रो सङ्कल्प छ, त्यो अबको दिनमा अझ बलियो भएर जान्छ,” उनले भने।

शर्माले राजनीतिक विषयको समाधान राजनीतिक ढङ्गबाटै खोजिनुपर्नेमा जोड दिँदै संविधान, कानुन, पार्टी विधान, इतिहासको निरन्तरता र कार्यकर्ताको भावनालाई आधार बनाएर कांग्रेसले राष्ट्रिय शक्तिका रूपमा आफ्नो भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने बताए।

सर्वोच्च अदालतले वैशाख ४ गते नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सदर गरेपछि पार्टीले त्यसलाई कसैको जित वा हारका रूपमा नलिई समाधान खोज्ने प्रयास गरेको शर्माको भनाइ छ।

उनका अनुसार फैसला आएको ४८ घण्टा नपुग्दै सभापति गगन थापा तत्कालीन कार्यवाहक सभापतिको निवासमा पुगेर संवाद गरेका थिए। त्यसपछि विभिन्न नेताहरूसँग पटक–पटक छलफल गरिएको र जेठ १६ गते पार्टी एकताका लागि सातबुँदे प्रस्ताव लिखित रूपमा नेताहरूसमक्ष पठाइएको उनले जानकारी दिए।

शर्माले सर्वोच्च अदालतले निस्सा दिएपछि इतर समूहको भेलाबाट छुट्टै दल बन्ने सम्भावना अन्त्य भएको दाबी गरे। उनले राष्ट्रिय भेला सकिएपछि पनि संवादलाई निरन्तरता दिने बताए। “भेला सकिएपछि हामी संवाद गर्नेछौँ। भेला सकिँदासम्म हाम्रो बैठक चल्न सक्छ। हामी संवादका लागि खुला छौँ। यो पार्टी सबैको हो भन्ने कुरा अग्रज नेता र भेलामा आउने सबैले गहिरो आत्मसात् गर्नुहुन्छ भन्ने विश्वास गर्छौँ,” शर्माले भने।

कांग्रेसभित्र नेतृत्व र एकताको विषयमा विवाद देखिएका बेला शर्माले संवादमार्फत सबै पक्षलाई समेटेर पार्टीलाई थप सुदृढ बनाउने प्रयास भइरहेको बताएका छन्।