कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सुरु, देउवाले सम्बोधन गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सुरु, देउवाले सम्बोधन गर्ने

काठमाडौ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला सुरु भएको छ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा काठमाडौंको मिराकल पार्टी प्यालेसमा भेला सुरु भएको हो। गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवा तथा डा. शशांक कोइराला समूहका नेता–कार्यकर्ता भेलामा सहभागी छन्।

भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि सिंगापुर गएका देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किएका थिए।

देउवा नेपाल फर्किएपछि उनको समूहका नेता–कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। विमानस्थलबाट बाजागाजासहित उनलाई चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा लगिएको थियो। त्यहाँ देउवाले नेता–कार्यकर्तालाई सम्बोधनसमेत गरेका थिए।

राष्ट्रिय भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुने आयोजकले जनाएको छ। भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, विशेष महाधिवेशनपछि देखिएको विवाद तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।