न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले न्यायपालिका तथा विभिन्न संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान निर्धारण गरेको छ।
अर्थ मन्त्रालयले साउन ६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ तलबमान सार्वजनिक गरेको हो। नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने जनाइएको छ। नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ कायम गरिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशले मासिक ९३ हजार ५४७ रुपैयाँ पाउनेछन्। न्यायपरिषद्का सदस्य तथा महान्यायाधिवक्ताको तलब पनि सर्वोच्च अदालतका न्यायाधीशसरह ९३ हजार ५४७ रुपैयाँ तोकिएको छ। उच्च अदालतका मुख्य न्यायाधीशको मासिक तलब ९० हजार ६४० रुपैयाँ कायम गरिएको छ भने उच्च अदालतका न्यायाधीशले ८४ हजार ५९० रुपैयाँ पाउनेछन्।
जिल्ला न्यायाधीशको मासिक तलब ७७ हजार ११० रुपैयाँ निर्धारण गरिएको छ। सरकारले संवैधानिक निकायका प्रमुखहरूको तलब सर्वोच्च अदालतका न्यायाधीशसरह ९३ हजार ५४७ रुपैयाँ तोकेको छ। अन्य पदाधिकारीको मासिक तलब भने ८५ हजार ४२६ रुपैयाँ कायम गरिएको छ।
यस्तै, संघीय संसदका महासचिवको मासिक तलब ८४ हजार ९३२ रुपैयाँ तथा सचिवहरूको तलब ७९ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ। नयाँ तलबमानसँगै न्यायपालिका, संवैधानिक निकाय र संघीय संसदका उच्च पदस्थ पदाधिकारीको पारिश्रमिकमा संशोधन भएको छ।







