देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्छ : शशांक कोइराला

User Image Prime TV News एक महिना अगाडि
Image of देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्छ : शशांक कोइराला

काठमाडौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा अघि बढ्ने बताएका छन्।

शुक्रबार कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले कांग्रेसलाई एकजुट बनाउनकै लागि राष्ट्रिय भेला आयोजना गरिएको बताए।

“नेपाली कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो,” कोइरालाले भने, “कांग्रेस एकजुट भएमा कसैले पनि पराजित गर्न सक्दैन।”

सम्बोधनका क्रममा कोइरालाले देउवासँग आफ्नो लामो सम्बन्धबारे समेत चर्चा गरे। उनले पहिलोपटक देउवालाई बनारसमा बीपी कोइरालाले आफूलाई परिचय गराएको स्मरण गरे। त्यसपछि २०४६ सालको जनआन्दोलनपछि लन्डनमा रहेका देउवालाई आफूले फोन गरेको उनले बताए।

देउवाको राजनीतिक यात्राबारे चर्चा गर्दै कोइरालाले उनी नेपाल फर्किएलगत्तै प्रधानमन्त्री बनेको उल्लेख गरे। अहिले पनि देउवा स्वदेश फर्किएसँगै राष्ट्रिय भेला सफल भएको उनको दाबी थियो। “शेरबहादुर देउवा यहाँ आउनेबित्तिकै यो पूर्ण सफल हुन्छ,” कोइरालाले भने।

कोइरालाले देउवालाई कांग्रेसको नेता र सभापतिका रूपमा स्वीकार गर्दै उनकै नेतृत्वमा पार्टी अघि बढ्ने स्पष्ट पारे। “शेरबहादुर हाम्रो नेता हो, हाम्रो सभापति हो। उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,” उनले भने।

कांग्रेसभित्र नेतृत्व र विशेष महाधिवेशनलाई लिएर विवाद चलिरहेका बेला संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा कोइरालाको यस्तो धारणा आएको हो। भेलामा पार्टीको आगामी रणनीति, एकता र नेतृत्वबारे छलफल भइरहेको छ।