देउवालाई सभापति भन्दै चुनदेवी कार्यालयमा बोर्ड राखेको कान्छारामको दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले चुनदेवीस्थित कांग्रेसको सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापति उल्लेख गर्दै बोर्ड आफूले नै राखेको बताएका छन्।
शुक्रबारदेखि सुरु भएको कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तामाङले कसैसँग अनुमति नलिई आफूले कार्यालयमा देउवालाई सभापति उल्लेख गरिएको बोर्ड राखेको बताएका हुन्।
“चुनदेवीमा सम्पर्क कार्यालय खोलेको मैले हो। हिजो शेरबहादुर दाइ पनि जानुभयो,” तामाङले भने, “त्यहाँ मैले सभापतिको बोर्ड पनि कसैलाई नसोधीकन राखेको हो।”
कांग्रेसभित्रको विवादबारे सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिइसकेको उल्लेख गर्दै तामाङले त्यसकै आधारमा देउवालाई सभापति उल्लेख गरेर बोर्ड राखेको बताए। “जब हामीलाई सम्मानित सर्वोच्च अदालतले निस्सा दिइसक्यो, अनि मैले हाम्रा सम्मानित नेता कसैलाई नसोधीकन त्यहाँ सभापति शेरबहादुर देउवा भनेर राखेको हुँ,” उनले भने।
कांग्रेसको विशेष महाधिवेशन र पार्टी नेतृत्वलाई लिएर विवाद चलिरहेका बेला संस्थापनइतर समूहको राष्ट्रिय भेलामा तामाङको यस्तो अभिव्यक्ति आएको हो।







