एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टोलीलाई बिदाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ। प्रतियोगिताको तयारीका लागि टोलीले भारतमा १० दिन प्रशिक्षण तथा अभ्यास गर्नेछ। त्यसपछि नेपाली टोली भारतबाटै मलेसिया जाने कार्यक्रम छ।
एसीसी पुरुष प्रिमियर कपमा सन्दीपले पुनः नेपाली एकदिवसीय टोलीको कप्तानी सम्हाल्नेछन्। उनलाई रोहित पौडेलको स्थानमा कप्तानको जिम्मेवारी दिइएको हो। मलेसियामा हुने प्रतियोगिता नेपाली टोलीका लागि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसँगै आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रतियोगिताअघि भारतमा हुने प्रशिक्षण र अभ्यासले नेपाली टोलीलाई मलेसियामा हुने प्रतिस्पर्धाका लागि थप तयारी गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।







