जेनजी आन्दोलनका घाइते र शहीद परिवारका सम्झौता कार्यान्वयन गर्न समिति गठन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न समन्वय तथा सहजीकरण समिति गठन गरेको छ।
शुक्रबार आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालले सहसचिवकै संयोजकत्वमा ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ गठन गरिएको जानकारी दिएका हुन्।
समितिले सरकार र जेन–जी प्रतिनिधिबीच गत २४ मंसिरमा भएको सम्झौता तथा मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको बैठकबाट स्वीकृत ‘एकीकृत प्याकेज’ कार्यान्वयनको प्रगति समीक्षा गर्नेछ। साथै प्याकेज कार्यान्वयनका लागि विभिन्न मन्त्रालय तथा सरकारी निकायबीच आवश्यक समन्वय गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ।
समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। स्वीकृत प्याकेजमा समेटिएका शिक्षा, स्वास्थ्य, रोजगारीलगायत संवेदनशील विषय कार्यान्वयनमा ल्याउन समितिले सम्बन्धित सरकारी निकायसँग समन्वय तथा सहजीकरण गर्नेछ।
सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या र जटिलता समाधानका लागि आवश्यक उपाय पहिचान गरी सम्बन्धित निकायलाई सुझाव तथा सिफारिस गर्ने अधिकार पनि समितिलाई दिइएको छ।
आवश्यकताअनुसार समितिले सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि र विषयगत विज्ञलाई बैठक तथा छलफलमा आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ। सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिमा गृह, अर्थ, शिक्षा तथा खेलकुद, युवा तथा रोजगार, पूर्वाधार विकास, स्वास्थ्य तथा खाद्य स्वच्छता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका एक–एक जना उपसचिव सदस्य छन्।
समितिमा जेनजी आन्दोलनका शहीद परिवार र घाइते परिवारका तर्फबाट दुई–दुई जना प्रतिनिधिसमेत सदस्य रहनेछन्।







