झारखण्डमा तीर्थयात्री सवार नेपाली बस दुर्घटना, तीन जनाको मृत्यु

User Image Prime TV News एक महिना अगाडि
Image of झारखण्डमा तीर्थयात्री सवार नेपाली बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौ । भारतको झारखण्डमा बोलबम यात्रामा गएका नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका तीर्थयात्रीको मृत्यु भएको हो। गत आइतबार बोलबम यात्राका लागि भारत गएको ना ६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको थियो।

दुर्घटनामा गरुडा–६ पोठियाहीका ६० वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन्। बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ। उनीहरू बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीरतर्फ जाने क्रममा सतगावाँ क्षेत्रमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी छ।

ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनालगत्तै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने देखिए पनि दुर्घटनाको वास्तविक कारण यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाएपछि मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरेर भारततर्फ गएका छन्। अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीका रहेको बताइएको छ। घटनाको खबरसँगै पोठियाही गाउँ शोकमा डुबेको छ। मृतकका परिवार तथा आफन्तले शव नेपाल ल्याउने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।

दुर्घटनामा घाइते हुनेको यकिन संख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण भने आउन बाँकी छ।