सांसद सुनारको व्यवहारबारे सभामुखलाई ध्यानाकर्षण गराउन आईजीपी कार्की सिंहदरबारमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सभामुख डोलप्रसाद अर्याललाई भेट्न सिंहदरबार पुगेका छन्।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा सांसद सुनारले म्यादी प्रहरी तथा प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै गृहसचिव राजकुमार श्रेष्ठ र आईजीपी कार्कीमाथि प्रश्न उठाएका थिए।
सुनारले प्रहरीमा जुत्ता, मोजा, कपडालगायत सामग्री खरिदमा अनियमितता भएको दाबी गर्दै छानबिनको माग गरेका थिए। उनले आईजीपी कार्कीमाथि समेत प्रश्न उठिसकेको भन्दै छानबिनका लागि पदबाट अलग हुनुपर्ने धारणा राखेका थिए।
बैठकमा सांसदले आफूविरुद्ध लगाएको आरोप र प्रस्तुत गरेको शैलीबारे आईजीपी कार्कीले सभामुखसँग ध्यानाकर्षण गराएको बताइएको छ। सभामुखसँगको भेटमा संसदीय समितिको बैठकमा सांसदले सुरक्षा निकायका प्रमुखमाथि लगाएका आरोप र व्यवहारबारे छलफल भएको जनाइएको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले पनि आईजीपी कार्कीमाथि सांसद सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले आरोपका आधारमा कसैको चरित्रहत्या गर्न नमिल्ने बताएका हुन्।
गृहमन्त्री गुरुङले छानबिन वा अनुसन्धानको विषयलाई प्रमाण र प्रक्रियाका आधारमा अघि बढाउनुपर्ने धारणा राख्दै आरोप लगाउने क्रममा जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।







