एलपी ग्यासको आपूर्ति सहज छ, अनावश्यक भण्डारण नगर्न मन्त्रालयको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सामान्य रहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ।
ग्यास अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेपछि मन्त्रालयले बजारमा कुनै अभाव नरहेको स्पष्ट पारेको हो। मन्त्रालयले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले सामान्य अवस्थाभन्दा अहिले बढी ग्यास आयात तथा वितरण भइरहेको जानकारी दिए। उनका अनुसार सामान्य अवस्थामा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा अहिले दैनिक करिब १ लाख ३२ हजार सिलिन्डर वितरण भइरहेको छ।
नेपाल आयल निगमले आधा सिलिन्डरको सट्टा पूर्ण क्षमताको सिलिन्डर वितरण गर्ने निर्णय गरेपछि एकैपटक माग बढ्दा केही स्थानमा असहज अवस्था देखिएको मन्त्रालयले जनाएको छ। वर्षायामका कारण ढुवानीमा केही ढिलाइ हुन सक्ने भए पनि आपूर्तिमा समस्या नरहेको सुवेदीले बताए।
बढ्दो मागलाई सम्बोधन गर्न सरकारले भारतबाट आउने ग्यासको कोटा बढाउन पहलसमेत थालेको छ। हाल मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास नियमित रूपमा आपूर्ति भइरहेकोमा आगामी तीन महिनाका लागि ६० हजार मेट्रिक टन पुर्याउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।
ग्याससम्बन्धी उपभोक्ताका गुनासा सम्बोधन गर्न नेपाल आयल निगम र ग्यास उद्योगी सम्मिलित क्विक रेस्पोन्स टिमले हालसम्म ३ हजार ४ सयभन्दा बढी गुनासा सम्बोधन गरिसकेको छ। बजारमा आपूर्ति सहज हुँदै गएपछि गुनासो आउने क्रमसमेत घटेको मन्त्रालयको भनाइ छ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन मन्त्रालयले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। तत्कालका लागि गुगल फर्ममार्फत उद्योगबाट डिपोतर्फ पठाइएका सिलिन्डरको दैनिक विवरण संकलन गर्न थालिएको छ।
दीर्घकालीन रूपमा निगमले जिआइएस म्याप र क्युआर प्रणाली लागू गरी ग्यास सिलिन्डरको स्टक तथा आवागमनको निगरानी गर्ने तयारी गरेको छ। केही उद्योगमा परीक्षण गरेपछि क्युआर प्रणालीलाई सबै उद्योगमा विस्तार गर्ने मन्त्रालयको योजना छ।
मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। साथै, ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको सूचना दिने जिम्मेवार नागरिकलाई सम्मान तथा पुरस्कार दिने घोषणा गरिएको छ।
बिक्रेतालाई घरमा एउटा मात्र सिलिन्डर भएका उपभोक्ता, वृद्धवृद्धा, अशक्त तथा सुत्केरीलाई प्राथमिकताका आधारमा ग्यास वितरण गर्न निर्देशन दिइएको छ। नियमित वितरकबाट ग्यास नपाएका उपभोक्ताका लागि टेकुलगायत स्थानमा वैकल्पिक वितरणको व्यवस्था गरिएको र काठमाडौंका अन्य स्थानमा समेत विस्तार गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
यसैबीच सरकारले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि बढाउने भएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा करिब १० हजार इन्डक्सन चुलो आयात भएकोमा पछिल्लो वर्ष ३ लाख ८२ हजारभन्दा बढी इन्डक्सन आयात भएको छ।







