सिटौलाको गगनलाई चेतावनी : ‘गल्ती सच्याउने अवसर अझै छ’

User Image Prime TV News एक महिना अगाडि
Image of सिटौलाको गगनलाई चेतावनी : ‘गल्ती सच्याउने अवसर अझै छ’

काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति गगन थापालाई आफ्नो गल्ती सच्याएर अघि बढ्न सुझाव दिएका छन्।

काठमाडौंमा कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिटौलाले हठका कारण इतिहासमा ठूलाठूला शासकहरूको पतन भएको स्मरण गराउँदै थापालाई गल्ती नसच्याए त्यसको असर पार्टी र नेतृत्व दुवैमा पर्ने चेतावनी दिए।

‘मानिसको जीवनमा गल्ती हुन्छ, तर त्यसलाई सच्याउन सक्नुपर्छ। दुनियाँमा ठूलाठूला शासकहरू आफूले गरेको गल्ती नसच्याउने हठका कारण पतन भएका छन्। गगनजी, सच्याउने अवसर अझै तपाईँलाई छ,’ सिटौलाले भने।

उनले पार्टी सञ्चालनमा विधि र प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिँदै त्यसलाई मिचेर अघि बढ्दा कांग्रेसलाई समेत क्षति पुग्ने बताए। विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सिटौलाले निर्वाचन आयोगको निर्णय प्रक्रियाप्रति समेत असन्तुष्टि जनाए।

विशेष महाधिवेशनको कागजात बोकेर गगन थापासहितका नेता निर्वाचन आयोग पुगेपछि तत्कालीन सभापति शेरबहादुर देउवा तथा अन्य पदाधिकारीसँग पर्याप्त छलफल नगरी बहुमतका आधारमा निर्णय गरिएको उनको आरोप थियो।

सर्वोच्च अदालतको डिभिजन इजलासले निर्वाचन आयोगको निर्णय सदर गरे पनि पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएकाले उक्त निर्णय सच्याइनेमा आफू आशावादी रहेको सिटौलाले बताए। संविधान संशोधन आवश्यकताअनुसार विधि र प्रक्रियाबाट गर्न सकिने उनको भनाइ थियो।

दुई तिहाइको सरकार रहेकाले चाहेमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सक्ने भए पनि सरकारले त्यसका लागि पर्याप्त तयारी गरेको नदेखिएको उनले बताए। जेनजी आन्दोलनपछि मुलुक जटिल अवस्थामा पुगेको भन्दै सिटौलाले यस्तो समयमा नेपाली कांग्रेसभित्र एकता अपरिहार्य रहेको बताए। तर, एकता केवल नाराबाट नभई विधि, पद्धति र संस्थागत प्रक्रियाका आधारमा हुनुपर्नेमा उनले जोड दिए।

पार्टी एकताका लागि सिटौलाले यसअघि पनि सभापति गगन थापालाई खुला र दृढ भएर अघि बढ्न आग्रह गरेका थिए।  ‘विधि र पद्धतिको जगमा मात्रै वास्तविक एकता सम्भव हुन्छ,’ सिटौलाले भने।