कांग्रेस एकढिक्का हुनेमा आफू विश्वस्त रहेको शेखर कोइरालाको भनाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनको मनस्थिति अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउने बताएका छन्।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी एकताबद्ध हुनेमा आफू विश्वस्त रहेको बताएका हुन्।
‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ। नेपाली कांग्रेस हामी मिलाउँछौं, मिल्छ,’ उनले भने, ‘मलाई विश्वास छ नेपाली कांग्रेस एकढिक्का हुन्छ। हुन्छ भन्ने कुरामा म विश्वस्त छु।’
देशको हितका लागि कांग्रेस एकढिक्का हुन आवश्यक रहेको उनको भनाइ थियो। कोइरालाले कांग्रेसले विगतदेखि नै सबै पक्षलाई समेटेर अघि बढ्दै आएको दाबी गर्दै पार्टीभित्र कसैको निरंकुशता स्वीकार गर्न नसकिने बताए।
‘नेपाली कांग्रेस मात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिँडेको पार्टी हो। हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं,’ उनले भने।
कांग्रेसभित्र नेतृत्व, संगठन र आगामी राजनीतिक दिशालाई लिएर मतभेद बढिरहेका बेला संस्थापन इतर पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो। भेलामा पार्टीको वर्तमान अवस्था, आन्तरिक एकता र आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ।







