विशेष महाधिवेशनबाट बनेको कांग्रेस कार्यसमितिलाई निर्वाचन आयोगले गलत ढंगले वैधानिकता दिएको खड्काको आरोप
Prime TV News एक महिना अगाडि काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्यसमितिलाई निर्वाचन आयोगले गलत ढंगले वैधानिकता दिएको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले निर्वाचन आयोगका आयुक्तहरूको भूमिका र महामन्त्री गगन थापाको कार्यशैलीप्रति समेत प्रश्न उठाए।
निर्वाचन आयोगले पार्टीको विधान र तथ्यलाई बेवास्ता गर्दै विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई मान्यता दिएको उनको आरोप थियो।
‘विधानविपरीत गरिएको विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई निर्वाचन आयोगका दुई आयुक्तले आँखामा कालो पट्टी बाँधेर सदर गरिदिए,’ खड्काले भने।
उनले आयोगले कांग्रेसको आन्तरिक विधान र निर्धारित प्रक्रियालाई नहेरी एकपक्षीय निर्णय गरेको दाबी गरे।
‘विशेष महाधिवेशन बोलाउने प्रक्रिया नै गलत’
खड्काले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रिया पूरा नभएको दाबी गरे।
उनका अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि त्यससम्बन्धी निर्णय केन्द्रीय कार्यसमितिले गर्नुपर्ने व्यवस्था छ।
तर महामन्त्रीले विधानविपरीत सिधै विशेष महाधिवेशन बोलाएको खड्काको आरोप छ। विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।
‘विधान मिचेर गरिएका कामहरू धेरै समय टिक्दैनन्। हामीलाई विश्वास छ, अदालतले विधानको मर्मअनुसार न्याय दिनेछ,’ उनले भने।
खड्काले वर्तमान नेतृत्वले पार्टीको विधि, विधान र पद्धतिलाई कमजोर बनाएको आरोप लगाउँदै कार्यकर्तालाई त्यसप्रति सजग रहन आग्रह गरे।
देउवा–शेखर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा कांग्रेसको आन्तरिक विवाद, विशेष महाधिवेशनको वैधानिकता तथा पार्टीको आगामी दिशाबारे नेताहरूले धारणा राखिरहेका छन्।







