विशेष महाधिवेशनले कांग्रेस कमजोर बनाएयो: देउवा

User Image Prime TV News एक महिना अगाडि
Image of विशेष महाधिवेशनले कांग्रेस कमजोर बनाएयो: देउवा

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिचेर कांग्रेसलाई कमजोर बनाउने काम भएको आरोप लगाएका छन्।

झन्डै पाँच महिना स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेर शुक्रबार स्वदेश फर्किएका देउवाले काठमाडौंमा आयोजित कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै यसबाट पार्टीलाई क्षति पुगेको दाबी गरे। ‘विशेष महाधिवेशनका नाममा विधि विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ उनले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु।’

‘कांग्रेसले केही गरेन भन्ने भाष्य गलत’

देउवाले कांग्रेसले विगतमा देशका लागि केही नगरेको भन्ने भाष्य गलत रहेको बताए। कांग्रेसको योगदान बुझ्न २००७ सालअघिको नेपालको अवस्था हेर्नुपर्ने उनको भनाइ थियो।

‘नेपाली कांग्रेसले के गर्‍यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नुपर्छ,’ उनले भने।

२००७, २०३६, २०४६ तथा २०६२/०६३ का परिवर्तनकारी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको उल्लेख गर्दै देउवाले विगतका उपलब्धिको अवमूल्यन नगर्न आग्रह गरे।

इतिहासबाट पाठ सिकेर मात्रै सही राजनीतिक मार्ग पहिल्याउन सकिने उनको भनाइ थियो।

‘मुलुक संवेदनशील अवस्थामा छ’

देउवाले मुलुक अहिले राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा संवेदनशील अवस्थाबाट गुज्रिरहेको बताए। जनतामा बढेको निराशालाई आशामा बदल्नुपर्ने उनको भनाइ थियो।

‘मुलुकको अवस्था अहिले निकै संवेदनशील छ। जनतामा निराशा छाएको छ, यसलाई हामीले आशामा बदल्नुपर्नेछ,’ उनले भने।

संविधानप्रदत्त अधिकारको संरक्षण तथा प्राप्तिका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि देउवाले व्यक्त गरे।

पार्टी एकताका लागि आह्वान

देउवाले कांग्रेसभित्र बृहत्तर एकताको आवश्यकता रहेको भन्दै सबै नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गरे।

सबै नेता–कार्यकर्तालाई न्याय हुने र उनीहरूको भावनाको सम्मान हुने गरी पार्टीभित्र एकता कायम गर्नुपर्ने उनको भनाइ थियो। ‘सबै साथीहरूलाई न्याय हुने र सबैको भावनाको कदर हुने गरी एकता खोज्न आवश्यक छ,’ देउवाले भने, ‘जनताको अधिकार र भूमिकाका लागि म जुनसुकै त्याग गर्न तयार छु।’

स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई भव्य स्वागत गर्ने नेता तथा कार्यकर्ताप्रति पनि देउवाले आभार व्यक्त गरे।