इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार बिहान ४ः५८ बजे गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएसँगै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा थियो। भूकम्पको गहिराइ करिब १५ किलोमिटर रहेको बताइएको छ।
भूकम्पपछि बीएमकेजीले पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गाराका तटीय क्षेत्रमा सुनामीको सम्भावनालाई मध्यनजर गर्दै चेतावनी जारी गरेको थियो। प्रारम्भिक अनुमानमा ०.५ देखि ३ मिटरसम्मका सुनामी छाल आउन सक्ने बताइएको थियो।
चेतावनीपछि नागेकेओसहित आसपासका क्षेत्रका सयौँ मानिस सुरक्षित स्थानतर्फ भागेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार केही भवन तथा घरमा क्षति पुगेको छ भने भूकम्पपछि परकम्पसमेत महसुस गरिएको थियो।
पछिल्लो विवरणअनुसार भूकम्पमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्। उद्धार तथा क्षतिको विवरण संकलनको काम जारी रहेको बताइएको छ।
समुद्रको सतहमा ठूलो परिवर्तन नदेखिएपछि प्रारम्भमा जारी गरिएको सुनामी चेतावनी पछि हटाइएको छ। यद्यपि प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय अधिकारीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
फ्लोरेस क्षेत्र भूकम्पीय रूपमा निकै संवेदनशील मानिन्छ। सन् १९९२ मा यही क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण ठूलो जनधनको क्षति भएको थियो।







