आज देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
Prime TV News एक महिना अगाडि काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर, नेपालनजिक रहेको छ।
हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ।
मधेस प्रदेश तथा गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यसैगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनीको पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। ग
ण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थान तथा मधेस, कोशी र बागमतीका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
राति पनि बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। भारी वर्षा हुने सम्भावित क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा सडक यातायातमा अवरोधको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।







