शिक्षा ऐनअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’, आज विराटनगरबाट सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of शिक्षा ऐनअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’, आज विराटनगरबाट सुरु

काठमाडौ । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।

मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।

अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगरपछि मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

छलफलमा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तहका शिक्षा प्रतिनिधि तथा अन्य शिक्षा सरोकारवालाहरू सहभागी हुनेछन्। उनीहरूबाट प्राप्त सुझाव र धारणालाई शिक्षा ऐन तथा नीति निर्माण प्रक्रियामा समेट्ने मन्त्रालयको तयारी छ।

कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत अधिकारी सहभागी हुनेछन्।

मन्त्रालयका अनुसार शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक र सरोकारवालामैत्री बनाउने उद्देश्यले संवाद अभियान सञ्चालन गर्न लागिएको हो।

प्रदेश तथा स्थानीय तहबाट आएका सुझावलाई समेटेर प्रस्तावित ऐनलाई थप व्यावहारिक बनाउने मन्त्रालयको लक्ष्य छ।