काठमाडौंका पाँच स्थानबाट आज एलपी ग्यास बिक्री, परिचयपत्र अनिवार्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट आज विभिन्न ब्रान्डका एलपी ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा निगमले तोकेका बिक्री केन्द्रबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास खरिद गर्न सकिने जनाएको छ।
ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री हुनेछन्।
त्यस्तै चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ग्यास उपलब्ध हुनेछ। कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ।
बसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि ग्यास बिक्री गरिरहेको स्पष्ट पारेको छ।
उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा लामो लाइनमा नबस्न निगमले आग्रह गरेको छ।







