चितवनमा १५ जनामा औलो संक्रमण

User Image Prime TV News एक महिना अगाडि
Image of चितवनमा १५ जनामा औलो संक्रमण

चितवन। गत आर्थिक वर्षमा विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामीमध्ये १५ जनामा औलो (मलेरिया) संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार ३ हजार ४१५ जनाको परीक्षण गर्दा १५ जनामा औलो संक्रमण देखिएको हो। संक्रमितमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहेको उनले जानकारी दिए।

औलो एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। संक्रमण भएपछि लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, वान्ता हुने, जाडो लाग्ने, शरीरमा कम्पन छुट्ने तथा पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षण देखिन सक्छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ४०५ जनाको नमुना परीक्षण गर्दा ११ जनामा औलो संक्रमण देखिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको थियो।

नेपालमा मुख्यतः प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम नामका औलोका परजीवी पाइन्छन्। केसीका अनुसार नेपालमा भाइभेक्स परजीवी बढी देखिने गरेको छ। करिब ७० देखि ८० प्रतिशत संक्रमण भाइभेक्स परजीवीबाट हुने गरेको उनले बताए।

फाल्सिपारम परजीवी भने औलो संक्रमितमध्ये करिब १५ देखि २० प्रतिशतमा देखिने गरेको छ। यो परजीवीले मानिसको स्नायु प्रणालीमा समेत असर गर्न सक्ने भएकाले बढी जोखिमपूर्ण मानिन्छ। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमा फाल्सिपारम परजीवी बढी भेटिने गरेको केसीले बताए।

औलोबाट बच्न घर, गाउँ तथा समुदाय सफा राख्ने, लामखुट्टेले अण्डा पार्ने सम्भावित ठाउँ पुर्ने तथा राति सुत्दा झुलको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।