अमेरिकाले नेपाली सहित विभिन्न देशका नागरिकको टीपीएस सुविधा खारेज गर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी सरकारले नेपाल सहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गर्ने निर्णय गरेको छ।
अमेरिकी आप्रवासन सेवाका अनुसार नेपाली नागरिकका लागि टीपीएसको अवधि एक वर्षअघि नै सकिएको थियो। तर, उक्त सुविधा पुनः कायम राख्ने वा अन्त्य गर्ने विषयमा निर्णय हुन बाँकी थियो।
पछिल्लो निर्णयसँगै अमेरिकाले नेपाली नागरिकका लागि टीपीएस कायम राख्नुपर्ने कानुनी आधार नरहेको निष्कर्ष निकाल्दै सुविधा अन्त्य गरेको हो।
टीपीएसअन्तर्गत तोकिएका देशका योग्य नागरिकले अमेरिकामा निश्चित अवधिसम्म कानुनी रूपमा बस्न र काम गर्न तथा देशनिकालाबाट अस्थायी सुरक्षा पाउँदै आएका थिए।
अब टीपीएस समाप्त भएपछि अन्य कुनै वैध आप्रवासन हैसियत नभएका नेपाली नागरिकले अमेरिकामा आफ्नो बसाइ कायम राख्न कठिनाइ बेहोर्नुपर्ने हुन सक्छ। यसले टीपीएसको आधारमा अमेरिकामा बसिरहेका नेपालीलाई थप आप्रवासन जोखिम सिर्जना गरेको छ।
अमेरिकी सरकारले नेपालसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, सोमालिया र इथियोपिया लगायतका देशका नागरिकका लागि पनि टीपीएस अन्त्य गर्ने निर्णय गरेको छ।
टीपीएस युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो देश फर्कन नसक्ने विदेशी नागरिकलाई अमेरिकाले प्रदान गर्ने अस्थायी कानुनी संरक्षण हो।
सुविधा अन्त्य भएपछि सम्बन्धित व्यक्तिले आफ्नो अन्य वैध आप्रवासन स्थिति के छ भन्ने आधारमा अमेरिकामा बसाइ जारी राख्न पाउने वा नपाउने अवस्था निर्धारण हुनेछ।







