पार्टी फुटाउने पक्षमा छैनौँ : शशांक कोइराला

User Image Prime TV News ४ हप्ता अगाडि
Image of पार्टी फुटाउने पक्षमा छैनौँ : शशांक कोइराला

काठमाडौ । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा जारी संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले जनताको चाहना अनुसार कांग्रेसलाई परिमार्जन गर्दै अघि बढाउनुपर्ने धारणा राखे।

‘पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा म बिल्कुलै छैन। जनताको चाहनाअनुसार पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ,’ उनले भने।

कोइरालाले आगामी १५औँ महाधिवेशनमा सभापति पदमा आफू आकांक्षी रहेको पनि बताए। तर, नेता शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिए आफूले उनलाई सहयोग गर्ने स्पष्ट पारे।

‘सभापति पदका लागि म इच्छुक छु। तर मेरो इच्छाले मात्रै हुँदैन,’ उनले भने।

उनले कांग्रेसलाई नयाँ र संगठित शक्तिका रूपमा अघि बढाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए। कांग्रेसले अब केवल सैद्धान्तिक विषयलाई प्राथमिकता दिनुभन्दा विकास र जनताका मुद्दालाई मुख्य एजेन्डा बनाउनुपर्ने उनको भनाइ थियो ।