नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कांग्रेस संस्थापनइतर पक्षको प्रतिबद्धता
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
शनिबार जारी राजनीतिक प्रतिवेदनमार्फत संस्थापनइतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशनको तयारी अघि बढाउने उल्लेख गरेको हो।
नेता विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको विषयमा आफूहरूको कुनै विमति नरहेको स्पष्ट पारिएको छ।
‘पार्टी र देशको नेतृत्व हस्तान्तरण गर्नु हाम्रो उद्देश्य र प्रतिबद्धता रहेको छ। यसका लागि नयाँ पुस्तालाई वैचारिक स्पष्टता र समर्पण भावले तयार रहन हामी आग्रह गर्दछौँ,’ प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनले कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई पार्टीको बृहत्तर एकताका पक्षमा रहेको दाबी गरेको छ। पार्टीभित्रको विवादलाई अन्त्य गर्दै कांग्रेसलाई नागरिकको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा पुनर्स्थापित गर्ने संकल्प पनि भेलाले गरेको प्रतिवेदनमा उल्लेख छ।
कांग्रेसको संघर्ष, त्याग, तपस्या, बलिदान र योगदानको इतिहासलाई आधार बनाएर पार्टीलाई एकताबद्ध बनाउने तथा त्यसको राजनीतिक गन्तव्यलाई कमजोर हुन नदिने प्रतिबद्धता पनि प्रतिवेदनमार्फत व्यक्त गरिएको छ।







