दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरी पुगेपछि अन्योल
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । पटकपटक पक्राउ पर्दै छुट्दै आएका व्यवसायी दुर्गा प्रसाईको भक्तपुरस्थित घरमा शनिबार प्रहरी पुगेको छ।
तर, प्रहरी कुन निकायबाट गएको हो भन्नेबारे जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी नभएको जनाएको छ। प्रसाईका छोरा निराजन प्रसाईका अनुसार दिउँसो करिब १ बजेदेखि तीनवटा गाडीमा प्रहरी आएर घरको गेटमा बसेका थिए।
त्यसबेला दुर्गा प्रसाई घरमै भए पनि प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास नगरेको उनले बताए। ‘उनीहरू गेटमा बसेर निगरानी गरिरहेका थिए। तर बुवालाई पक्राउ गर्ने प्रयास गरेनन्। किन आएको भनेर सोध्दा स्पष्ट जवाफ पनि दिएनन्,’ निराजनले भने।
गेटमा तैनाथ प्रहरी केही समयपछि फर्किए पनि घरबाट केही पर अझै प्रहरी तैनाथ रहेको निराजनले बताएका छन्। उनले बिना कारण घरमा प्रहरी पठाएर परिवारलाई आतंकित पार्न खोजिएको आरोप लगाए।
घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का र भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी दीपक कार्कीसँग बुझ्दा दुवैले आफूहरूलाई यसबारे जानकारी नभएको बताए।
एसएसपी खड्काले आफ्नो कार्यालयबाट प्रहरी टोली त्यहाँ नपठाइएको दाबी गरे। भक्तपुर प्रहरीका प्रवक्ता कार्कीले भने यो नियमित गस्ती वा पेट्रोलिङका क्रममा भएको हुन सक्ने बताए।
यससँगै प्रसाईको घरमा पुगेका प्रहरी कुन निकायका हुन् र उनीहरू कुन उद्देश्यले त्यहाँ पुगेका थिए भन्ने विषयमा स्पष्टता हुन सकेको छैन।







