प्रधानमन्त्री बालेनलाई मोदीको जवाफ : नेपाल–भारत सम्बन्ध अझ सुदृढ बनाउन मिलेर काम गर्छौँ
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई धन्यवाद दिँदै नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री शाहले शनिबार बिहान मोदीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिएका थिए।
शुभकामना सन्देशमा उनले नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता तथा आपसी सहकार्य आगामी दिनमा अझ बलियो हुँदै जाने विश्वास व्यक्त गरेका थिए।
शाहले नेपाल र भारतबीचको सम्बन्ध आगामी वर्षहरूमा थप मजबुत हुँदै जाओस् भन्ने शुभकामना दिएका थिए। जवाफमा मोदीले शाहलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन मिलेर काम गर्ने बताएका हुन्।
मोदीले नेपाल र भारतबीचको बहुआयामिक तथा युगौँ पुरानो सभ्यतागत सम्बन्धलाई अझ सुदृढ गर्दै दुवै देशका जनताको पारस्परिक समृद्धि र कल्याणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
भारतले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ।







