काठमाडौंमा एकैदिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार सात केन्द्रबाट वितरण हुने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काठमाडौंमा एकैदिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार सात केन्द्रबाट वितरण हुने

काठमाडौ । नेपाल आयल निगमले काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट शनिबार ६ हजार ८०२ थान खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गरेको छ।

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा तोकेका बिक्री केन्द्रबाट ग्यास वितरण गरेको हो। निगमका अनुसार सबैभन्दा बढी टेकुस्थित निगम परिसरबाट २ हजार २९० सिलिन्डर बिक्री भएको छ।

त्यस्तै, बबरमहलबाट १ हजार ६००, कीर्तिपुरस्थित राधास्वामी केन्द्रबाट ७६२, चाबहिलस्थित यातायात कार्यालयबाट ७२० र अर्को राधास्वामी केन्द्रबाट ६०० सिलिन्डर बिक्री भएको निगमले जनाएको छ।

यसैगरी बालाजुबाट ५०० तथा साल्ट ट्रेडिङको जडीबुटी र कालीमाटी काउन्टरबाट ३३० सिलिन्डर बिक्री भएको छ।

निगमले आइतबार सातवटा बिक्री केन्द्रबाट ग्यास वितरण गर्ने जनाएको छ। आइतबार टेकुस्थित निगम परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका परिसर र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण गरिनेछ।

निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गर्दै वितरण प्रणालीलाई सहज बनाउन तोकिएका केन्द्रबाट सेवा लिन अनुरोध गरेको छ ।