अविरल वर्षाले देशभरका विभिन्न सडकखण्ड अवरुद्ध, यात्रा गर्नुअघि सडक अवस्था बुझ्न आग्रह
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र सडक कटान हुँदा प्रमुख सडकखण्डहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकमा यातायात प्रभावित भएको जनाएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
वर्षाका कारण इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, रुकुम पश्चिमको भेरी करिडोर, सङ्खुवासभाको कोशी राजमार्ग, लमजुङको बेँसीसहर–मनाङ सडक तथा मुस्ताङको बेनी–जोमसोम सडक समेत अवरुद्ध भएका छन्।
यसैगरी रोल्पाको भालुवाङ–लिवाङ सडक र चितवनको पृथ्वीराजमार्ग पनि पहिरो तथा रूखसहितको सुक्खा पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।
निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
विशेषगरी पहाडी तथा पहिरोको जोखिम भएका सडकमा अनावश्यक यात्रा नगर्न र सम्भावित जोखिमप्रति सतर्क रहन अनुरोध गरिएको छ।







