देशभर मनसुनी प्रभाव कायमै, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

User Image Prime TV News ४ हप्ता अगाडि
Image of देशभर मनसुनी प्रभाव कायमै, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थान तथा बागमती र गण्डकीका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।