युद्ध अन्त्य गर्न उत्तर कोरियासँग वार्ता गर्न दक्षिण कोरियाली राष्ट्रपतिको प्रस्ताव
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले प्राविधिक रूपमा अझै जारी रहेको कोरियाली युद्ध औपचारिक रूपमा अन्त्य गर्ने विषयमा उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गरेका छन्।
जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको दिनको सम्झनामा आयोजित ‘मुक्ति दिवस’ समारोहलाई सम्बोधन गर्दै लीले दुवै देशबीच शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक विकासका लागि प्रत्यक्ष संवाद सुरु गर्न आह्वान गरेका हुन्।
लीले दुई देशबीचको वास्तविक सीमा अर्थात् गैर सैन्यीकृत क्षेत्रमा हुने सम्भावित सैन्य मुठभेड रोक्न बहुस्तरीय सुरक्षा प्रणाली निर्माण गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्। साथै, उत्तर कोरियाको परमाणु क्षमताको विकास रोक्ने व्यावहारिक उपायबारे छलफल गर्न संवाद आवश्यक रहेको उनको भनाइ छ।
सन् १९५३ मा कोरियाली युद्ध रोक्न युद्धविराम सम्झौता भए पनि दक्षिण र उत्तर कोरियाबीच अहिलेसम्म औपचारिक शान्ति सन्धि भएको छैन। त्यसैले दुई देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन्। युद्धविरामपछि पनि सीमाक्षेत्रमा तनाव र विभिन्न किसिमका सैन्य झडप हुँदै आएका छन्।
उत्तर कोरियाले परमाणु हतियार बोक्न सक्ने ब्यालिस्टिक मिसाइलको परीक्षणलाई निरन्तरता दिइरहेको छ। दक्षिण कोरिया र जापानले यी गतिविधिलाई क्षेत्रीय सुरक्षाका लागि गम्भीर चुनौतीका रूपमा हेर्दै आएका छन्।
राष्ट्रपति लीले एक–अर्कालाई धम्क्याउने दृष्टिकोण त्यागेर युद्ध अन्त्यका लागि प्रत्यक्ष संलग्न पक्षका रूपमा छलफल अघि बढाउनुपर्ने बताए। यस्तो संवादले उत्तर कोरियाको परमाणु कार्यक्रम नियन्त्रणका उपायबारे छलफल गर्ने अवसरसमेत दिने उनको भनाइ छ।
उत्तर कोरियाले लीको पछिल्लो प्रस्तावमा अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने नेता किम जोङ उनले आफ्नै मुलुकको मुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएको समाचार सार्वजनिक गरेको छ।
उत्तर कोरियाले यसअघि पनि ली सरकारबाट आएका संवाद र संलग्नताका प्रस्तावहरू अस्वीकार गर्दै आएको छ।







