ओलीको चुनौती : ‘अध्यक्षबाट हटाउने हो भने हटाएर देखाऊ’
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्षबाट हटाउन चुनौती दिएका छन्।
इलाममा आयोजित कार्यक्रममा बोल्दै ओलीले अध्यक्ष हटाउने चर्चा र गतिविधिप्रति आपत्ति जनाउँदै विधि र विधानअनुसार अघि बढ्न चुनौती दिएका हुन्। ‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’ भन्दै ओलीले आफूलाई हटाउने अभियान चलाउनेहरूप्रति प्रश्न उठाए।
उनले चिया पिएर र पार्टी कार्यालयको क्यान्टिनमा बसेर गफ गर्दैमा अध्यक्ष हटाउन नसकिने बताए। ओलीले भने, ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त।’
पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको भन्दै उनले ख्यालठट्टाका रूपमा अध्यक्ष हटाउने कुरा नगर्न चेतावनीसमेत दिए। पार्टीको नेतृत्व परिवर्तनका लागि निश्चित विधि र प्रक्रिया रहेको उनको भनाइ थियो।
ओलीले आफूलाई अध्यक्षबाट हटाउने भन्दै केही व्यक्तिले हस्ताक्षर अभियान चलाइरहेकोप्रति पनि असन्तुष्टि व्यक्त गरे। त्यस्ता गतिविधिमा पार्टीको विधि र विधानको पालना नभएको उनको आरोप छ।
‘कोही हस्ताक्षर गर्दै हिँड्या छन् अध्यक्ष हटाउने भनेर। यसका पछाडि केही दम छैन, केही छैन,’ ओलीले भने। पार्टीभित्र नेतृत्व परिवर्तनलगायत विषयमा निर्णय गर्ने निश्चित समय र प्रक्रिया हुने उल्लेख गर्दै ओलीले अहिलेको अवस्थामा पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए।
उनले बाह्य शक्तिबाट पार्टीमाथि तीव्र प्रहार भइरहेको दाबी गर्दै यस्तो अवस्थामा एमाले एकजुट भएर त्यसको सामना गर्नुपर्ने बताए। पार्टीभित्रै अध्यक्ष हटाउनेलगायत विषयमा विवाद गर्नु अहिलेको अवस्थामा उचित नभएको ओलीको भनाइ थियो।
एमाले अध्यक्ष ओलीलाई हटाउने मागसहित पार्टीभित्र हस्ताक्षर अभियान चलेको चर्चा भइरहेका बेला ओलीको यस्तो अभिव्यक्ति आएको हो।







