भारतीय प्रधानसेनापति सेठ आज काठमाडौं आउँदै, सोमबार मानार्थ महारथीको दर्जा ग्रहण गर्ने
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन्।
उनी आज अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आउने उनी अहिलेसम्मकै वरिष्ठ अधिकारी हुन्। भारतीय प्रधानसेनापति सेठले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं बसाइँका क्रममा सेठले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी छ। भेटवार्तामा दुई देशका सेनाबीचको आपसी सहयोग तथा सुरक्षा सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
सोमबार मानार्थ महारथीको दर्जा
सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन्। उनको भ्रमणको औपचारिक कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले विस्तृत जानकारी सार्वजनिक गरिसकेका छैनन्।
यद्यपि उनले सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम तय भएको छ।
सात दशकदेखि कायम परम्परा
भारतीय प्रधानसेनापतिलाई नेपाल र नेपाली प्रधानसेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि कायम रहेको नेपाली सेनाले जनाएको छ। यसै परम्पराअनुसार नेपाली सेनाका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्।
२७ मंसिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। भारतीय प्रधानसेनापति सेठको नेपाल भ्रमणलाई दुई देशका सेनाबीच लामो समयदेखि कायम रहेको सैन्य सहकार्य र उच्चस्तरीय सम्बन्धलाई निरन्तरता दिने महत्वपूर्ण भ्रमणका रूपमा हेरिएको छ।







