वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

User Image Prime TV News ४ हप्ता अगाडि
Image of वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

काठमाडौ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

सार्वजनिक गरिएको नयाँ दरअनुसार वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर साउनको तुलनामा केही घटेको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर साउनमा औसत ४.१६ प्रतिशत रहेकोमा भदौमा घटेर ४.१३ प्रतिशतमा झरेको छ।

यससँगै व्यक्तिगत बचतकर्ताले मुद्दती निक्षेपमा पाउने औसत प्रतिफलमा सामान्य कमी आएको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ। साउनमा औसत ३.११ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको ब्याजदर भदौमा घटेर ३.०८ प्रतिशत कायम भएको छ।

नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये पाँच बैंकले भदौका लागि ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकमा सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। बाँकी १५ वाणिज्य बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैंकहरूको ब्याजदरमा आएको सामान्य गिरावटले आगामी दिनमा निक्षेपकर्ताको आम्दानीसँगै कर्जाको ब्याजदरमा समेत प्रभाव पार्न सक्ने देखिन्छ। यद्यपि कर्जाको वास्तविक ब्याजदर भने बैंकअनुसार फरक हुने भएकाले ऋणीले सम्बन्धित बैंकको नयाँ दर तथा आधारदर हेर्नुपर्ने हुन्छ।