जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
Prime TV News ४ हप्ता अगाडि 
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ।
शनिबार साँझ पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको हो। यसअघि पहिरोमा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी बुद्धिसागर पुरीका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, सोही स्थानकी करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री रहेका छन्। उपचारका क्रममा भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।
पहिरोमा परी छ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ। भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा गम्भीर घाइते भएका छन्।
उनको छाती, टाउको र हातमा चोट लागेको छ। आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी छन्। यस्तै, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्।
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि डिस्चार्ज गरिएको छ।
पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुईतले, छ कोठे कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने पहिरो जाँदा मानिस नरहेको बताइएको छ।
अविरल वर्षाका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पैदलमार्फत जोखिमपूर्ण क्षेत्रमा पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काममा परिचालित छन्।
गत साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत आसपासका क्षेत्रमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका छन्।
वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।







