कम्युनिस्टहरू संघर्षमा सफल भए, सत्ता सञ्चालनमा कमजोर देखिए : शंकर पोखरेल

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कम्युनिस्टहरू संघर्षमा सफल भए, सत्ता सञ्चालनमा कमजोर देखिए : शंकर पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन्।

कम्युनिस्ट आन्दोलनले अधिकार र संघर्षका विषयलाई प्राथमिकता दिए पनि समाज परिवर्तनको मुख्य आधार मानिने ‘अर्थराजनीति’ उपेक्षित रहनु यसको प्रमुख कारण भएको पोखरेलको विश्लेषण छ।

उनका अनुसार क्रान्तिपूर्व कम्युनिस्ट आन्दोलनले ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता अघि सारे पनि व्यवहारमा त्यसलाई प्रभावकारी रूपमा लागू गर्न नसक्दा कम्युनिस्ट नेतृत्वमा सरकार बनेपछि आमरूपमा शक्ति क्षयीकरण हुने अवस्था देखिएको छ।

पोखरेलले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए पनि त्यसअनुसार जनसमर्थन भने विस्तार हुन नसकेको बताए। बरु पछिल्लो समय आमरूपमा कम्युनिस्ट पार्टीप्रतिको जनसमर्थन घट्दै गएको उनको भनाइ छ।

उनले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौमहिने वामपन्थी सरकार बाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वका सरकारले आफ्नो जनमत विस्तार गर्न नसकेको दाबी गरे।

पोखरेलले आमनिर्वाचन २०८२ मा सिंगो वामपन्थी आन्दोलनले व्यहोरेको ‘असाधारण धक्का’ले कम्युनिस्ट आन्दोलनबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना गरेको बताए। कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिस्ट पार्टीबाट किन टाढिए भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

साथै नेता तथा कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको हुटहुटी किन कमजोर हुँदै गयो भन्ने प्रश्नको समेत निर्मम समीक्षा आवश्यक रहेको उनले बताए। ‘यस्तो अवस्थामा निर्मम समीक्षा नगरी कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव छैन,’ पोखरेलले भने।

हरेक समस्याको पछाडि कुनै न कुनै कारण हुने र त्यसको समाधान पनि कारणको पहिचानमै निहित हुने मार्क्सवादी मान्यता रहेको पोखरेलले उल्लेख गरे। उनले कम्युनिस्ट आन्दोलनमा देखिएका कमजोरीबाट भाग्नुको सट्टा त्यसको कारण पहिचान गरेर समाधान खोज्नुपर्ने बताए।

‘समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो,’ पोखरेलले भने। उनका अनुसार पछिल्लो राजनीतिक परिणामलाई केवल तत्कालीन परिस्थितिको उपजका रूपमा बुझ्नेभन्दा पनि कम्युनिस्ट आन्दोलनको कार्यदिशा, अर्थराजनीतिक दृष्टिकोण, नेतृत्व र जनतासँगको सम्बन्धका विषयमा गहिरो समीक्षा आवश्यक छ।