कांग्रेसको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा देउवा पनि सहभागी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कांग्रेसको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा देउवा पनि सहभागी

काठमाडौ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा साउन ३० गतेदेखि जारी नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनको अन्तिम दिनको बन्दसत्रमा पूर्वसभापति शेरबहादुर देउवा पनि सहभागी भएका छन्।

करिब पाँच हजार प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको सम्मेलनको उद्घाटन पूर्वसभापति देउवाले गरेका थिए। तर, शनिबार आयोजित बन्दसत्रमा भने उनी सहभागी भएका थिएनन्। सम्मेलनको अन्तिम दिन आज देउवा बन्दसत्रमा उपस्थित भएका हुन्।

बन्दसत्रमा कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।

ती प्रस्तावमाथि सम्मेलनमा सहभागी प्रतिनिधिहरूले आफ्नो धारणा राख्ने तथा सुझाव दिने क्रम आज पनि जारी छ। प्राप्त सुझाव समेटेर प्रस्तावहरूलाई अन्तिम रूप दिइने सम्मेलनमा सहभागी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।

बरालका अनुसार प्रस्तावहरूमा आवश्यक संशोधन तथा सुझाव समेटेर पारित गरेपछि आजै राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने तयारी छ। सम्मेलनलाई पार्टीको आगामी राजनीतिक दिशा, आर्थिक–सामाजिक नीति तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।