रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सर्यो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ।
यसअघि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारी थियो। तर आन्तरिक तयारीलगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो साताका लागि सारिएको स्रोतले जनाएको छ। भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवर पुग्ने कार्यक्रमसमेत तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन्।
यसअघि उनको मानसरोवर भ्रमण हुने वा नहुने निश्चित भइसकेको थिएन। चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ। यद्यपि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने भेटवार्ता नहुने स्रोतको दाबी छ।
यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर फर्किएका लामिछानेले चीनमा पनि त्यस्तै उच्चस्तरीय भेटवार्ताको वातावरण बनाउन प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
लामिछानेको चीन भ्रमणलाई रास्वपाको अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध विस्तारसँगै नेपालका दुई ठूला छिमेकीसँग पार्टी नेतृत्वको प्रत्यक्ष संवादका रूपमा हेरिएको छ।







