रास्वपा सांसदको संसद् हाजिरी छानबिन, ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । संसदमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको उपस्थिति घट्दै गएको र हाजिरी गरेर बैठकबाट बाहिरिने क्रम बढेको गुनासोपछि संसदीय दलले सांसदहरूको हाजिरी विश्लेषण गर्न निर्देशन दिएको छ।
रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले संसद् सचिवालयबाट सांसदहरूको हाजिरी विवरण झिकाएर विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई निर्देशन दिएका हुन्।
मुख्य सचेतकको निर्देशनमा पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नभएको, बैठक सुरु हुँदा उपस्थित भए पनि बीचमै संसद् छाडेर जाने क्रम बढेको र यसले संसद्को गरिमा कमजोर पार्न सक्ने उल्लेख गरिएको छ। निर्देशनअनुसार असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेको हाजिरी विशेष रूपमा विश्लेषण गर्न भनिएको छ।
रास्वपाको नेतृत्वमा सरकार रहेको र प्रतिनिधिसभामा उसको अत्यधिक बहुमत हुँदाहुँदै पनि सांसदहरूको उपस्थिति कमजोर देखिएको छ। प्रतिनिधिसभामा सभामुखबाहेक रास्वपाका १८१ सांसद रहेको बताइएको छ। साउन २६ गते बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुन सकेन।
संविधानअनुसार कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको कुल सदस्य संख्याको कम्तीमा एकचौथाइ सांसद उपस्थित हुनुपर्छ। उक्त बैठकमा आवश्यक ६९ सांसदको सट्टा ६१ जना मात्रै उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव अर्को बैठकमा पेस गर्ने जानकारी दिएका थिए।
नेपालको संविधानको धारा ९४ मा संसद्को गणपूरक संख्यासम्बन्धी व्यवस्था छ। जसअनुसार कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्दा कम्तीमा एकचौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले मुख्य सचेतकको निर्देशनअनुसार सांसदहरूको दैनिक हाजिरी विवरण झिकाएर विश्लेषण भइरहेको जानकारी दिए।
‘मुख्य सचेतकको निर्देशनबमोजिम हामीले प्रत्येक दिनको हाजिरी विश्लेषण गरिरहेका छौँ,’ परियारले भने। उनका अनुसार हाजिरी विश्लेषणपछि सांसदहरूको उपस्थिति र बैठक छाडेर जाने अवस्थाबारे प्रतिवेदन तयार गरिनेछ।
मुख्य सचेतक बुर्लाकोटीले सांसदहरूको न्यून उपस्थिति र बैठक सुरु भएपछि बीचमै बाहिरिने प्रवृत्तिलाई गम्भीर रूपमा लिएको बताएका छन्। ‘पछिल्लो समय संसद्मा न्यून उपस्थित हुने, बैठकमा सुरुमा उपस्थित भए पनि बीचमा संसद् छोडेर जाने क्रम बाक्लिँदै गएको विषय गम्भीर छ,’ बुर्लाकोटीले भने।
उनले हाजिरी विश्लेषणबाट प्राप्त प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाउनेसमेत बताए। सत्तापक्षकै सांसदलाई अनुशासनमा ल्याउन सके त्यसले अन्य दलका सांसदलाई समेत संसद् बैठकमा नियमित उपस्थित हुन दबाब सिर्जना गर्ने उनको भनाइ छ।







