जबरजस्ती विशेष महाधिवेशन गरेर धेरै साथीलाई बाहिर राखियो : शेरबहादुर देउवा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of जबरजस्ती विशेष महाधिवेशन गरेर धेरै साथीलाई बाहिर राखियो : शेरबहादुर देउवा

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जबरजस्ती विशेष महाधिवेशन गरेर पार्टीका धेरै नेता–कार्यकर्तालाई अन्यायपूर्ण तरिकाले बाहिर राखिएको आरोप लगाएका छन्।

कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलाको समापन समारोहमा आइतबार बोल्दै पूर्वप्रधानमन्त्री देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतबाट आउने निर्णय आफूले स्वीकार गर्ने बताए।

देउवाले आफूले विशेष महाधिवेशन गर्न नचाहेको र पार्टीका सबै पक्षको सहमतिमा मात्रै विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेको बताए। ‘मैले विशेष महाधिवेशन गर्न मानेको थिइनँ। मैले भनेको थिएँ–पार्टीका सबैको सहमतिले विशेष महाधिवेशन गरौँ, यसरी नगरौँ भनेर। जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो,’ देउवाले भने।

विशेष महाधिवेशनबाट उत्पन्न विवादविरुद्ध आफूहरू अदालत गएको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेको बताए। अदालतको निर्णयअघि आफूले यस विषयमा धेरै बोल्न नचाहेको उनको भनाइ थियो।

‘मलाई विश्वास छ–अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि मैले अदालतको विषयमा धेरै बोल्नु छैन। तर, मलाई विश्वास छ–मैले न्याय पाउँछु,’ देउवाले भने। उनले विगतमा पनि न्यायालयले आफूलाई न्याय दिएको दाबी गरे। राजाको शासनकालदेखि नै आफूले न्यायालयबाट न्याय पाउँदै आएको उनको भनाइ थियो।

‘सर्वोच्च अदालतदेखि सबै न्यायालयले हिजोदेखि हामीलाई न्याय दिएको हो। राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो,’ देउवाले भने।

उनले अहिले पनि न्यायालयले आफूलाई बचाएको र त्यसकै कारण आफू नेपालमा रहन सकेको बताए। कांग्रेसभित्र विशेष महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्किरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो।