पाँच प्रस्ताव पारित गर्दै कांग्रेस इतर समूहको तीनदिने राष्ट्रिय भेला सकियो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
भेलाले पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा मेलमिलाप, धार्मिक पहिचान र संविधान संशोधनलगायत विषयमा महत्वपूर्ण प्रस्ताव पारित गरेको हो। भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वाससमेत भेलाले व्यक्त गरेको छ। महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले समन्वय गर्ने निर्णय गरिएको छ।
भेलाले २०३३ सालमा जननायक बीपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई पुनः स्मरण गरेको छ। वर्तमान असहज राजनीतिक परिस्थितिमा राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ बनाउन सबै लोकतन्त्रवादी शक्तिसँग संवाद गर्दै अघि बढ्ने निर्णय भेलाले गरेको छ।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पनि पारित गरेको छ। हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्म तथा संस्कृतिको संरक्षण गर्ने दायित्व आत्मसात् गर्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ।
सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउन पहल गर्ने निर्णयसमेत भेलाले गरेको छ। यस्तै वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता तथा जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि कांग्रेसले पहल गर्ने भएको छ।
संविधानले निर्धारण गरेको प्रक्रियाअनुसार सबै पक्षसँग संवाद गरी राजनीतिक निकास खोज्ने प्रस्ताव भेलाले पारित गरेको छ। तीन दिनसम्म चलेको भेलाले पार्टीको आगामी महाधिवेशनदेखि राष्ट्रियता, धार्मिक पहिचान र संविधान संशोधनसम्मका विषयलाई समेट्दै पाँचवटा प्रस्ताव पारित गरेको हो।








