पार्टी पुनर्गठनको चर्चा ‘सडकछापको कुरा’ : केपी ओली

User Image Prime TV News ४ हप्ता अगाडि
Image of पार्टी पुनर्गठनको चर्चा ‘सडकछापको कुरा’ : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठनको चर्चा ‘सडकछाप कुरा’ भएको बताएका छन्।

झापाको बिर्तामोडबाट सुरु भएको एमालेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले अहिले पार्टी पुनर्गठनको नभई पुनर्जागरणको चरणमा रहेको बताएका हुन्। ओलीले एमालेको इतिहासमा विभिन्न समयमा पुनर्गठन भएको उल्लेख गर्दै पहिलो पुनर्गठन २०१९ सालमा र अर्को २०२८ सालमा भएको दाबी गरे।

त्यसपछि २०७७–७८ सालमा आफ्नै नेतृत्वमा तेस्रो पुनर्गठन भएको उनको भनाइ थियो। पार्टी विभाजनको प्रसंग उल्लेख गर्दै ओलीले आफूलाई पार्टी सदस्यबाट समेत हटाइएको दाबी गरे। उनका अनुसार २०७५ सालको पार्टी एकतापछि एमाले झन्डै दुईतिहाइ बहुमतको अवस्थामा पुगे पनि केही ‘घुसपैठिया’ र ‘कुण्ठाग्रस्त प्रवृत्ति’का कारण पार्टी विभाजन भएको थियो।

‘एमाले सिद्ध्याउँछौँ, केपी ओली सिद्ध्याउँछौँ भनिरहेको बेला हामीले नेपालको कम्युनिस्ट पार्टीमा सबैभन्दा बहुमत भएको पार्टी बनायौँ,’ ओलीले भने।

आफूलाई विगतमा पनि पार्टी सदस्यताबाट हटाइएको दाबी गर्दै ओलीले २०२९ देखि २०३३ सालसम्म पार्टी सदस्यता नरहेको र जेलमै रहेका बेला २०३३ सालमा पुनः सदस्यता प्राप्त गरेको बताए। जति षड्यन्त्र भए पनि आफूहरूले पार्टीलाई पुनः उठाएको उनको दाबी छ।

ओलीले अहिले चर्चामा रहेको पार्टी पुनर्गठनलाई विगतका पुनर्गठनसँग तुलना गर्न नमिल्ने बताए। कुनै कमिटी वा जनवर्गीय संगठनको पुनर्गठन हुनसक्ने भए पनि पार्टीकै पुनर्गठन आवश्यक नरहेको उनको भनाइ थियो।

‘पुनर्गठन भनेको एउटा नीति, गन्तव्य, संघर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो,’ ओलीले भने, ‘आज हामी पुनर्गठनको बेला होइन, पुनर्जागरणको कुरा हो।’ पार्टी सदस्यको संख्याभन्दा कम मत प्राप्त हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले एमालेमा वास्तविक नवीकरण र पुनर्जागरण आवश्यक रहेको बताए। नयाँ सदस्य थप्दै पार्टीलाई थप विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

पार्टीभित्र अवसर नपाएका भन्दा अवसर पाएका व्यक्तिहरू नै बढी असन्तुष्ट रहेको ओलीले दाबी गरे। ‘पाएका असन्तुष्ट छन्। खाएका असन्तुष्ट छन्, पर्याप्त अवसर लिनेहरू असन्तुष्ट छन्,’ ओलीले भने। उनले एमालेमा केही पुराना कार्यकर्ता अलग भए पनि पार्टीको संगठनात्मक आधार बलियो रहेको दाबी गरे। एमालेले देशका विभिन्न जातजाति, भाषा, भूगोल र समुदायलाई समेटेको उनको भनाइ थियो।

ओलीले एमालेले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला मुख्यमन्त्री बनाएको समेत उल्लेख गरे। ओलीले पार्टी अध्यक्ष हटाउन सामाजिक सञ्जालमा अभियान चलाउने वा हस्ताक्षर संकलन गर्ने गतिविधिलाई अनुशासनहीनता र अराजकताको संज्ञा दिए।

उनले पार्टीभित्र नेतृत्वप्रति असहमति राख्न र आलोचना गर्न पाइने भए पनि त्यसका लागि पार्टीको विधि र प्रक्रिया पालना गर्नुपर्ने बताए। ‘अध्यक्ष हट्नुपर्छ भन्ने कसैलाई लाग्यो भने सामाजिक सञ्जालमा स्ट्याटस लेखेर अध्यक्ष हटाउने, हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने हुन्छ ? त्यो अनुशासनहीनता हो। अराजकता हो,’ ओलीले भने।

पार्टीको विचार वा नेतृत्वप्रति असहमति भए पार्टीभित्रै छलफल गर्नुपर्ने र बाहिर विरोधीका लागि हाँसोको विषय बनाउने गरी गतिविधि गर्न नहुने उनको भनाइ छ।

आफूले पार्टीका नेता–कार्यकर्तालाई हप्काउने गरेको भन्ने प्रचारप्रति पनि ओलीले आपत्ति जनाए। आफूले जीवनमा कसैलाई कडा शब्द वा स्वरमा हप्काएको भए हात उठाएर भन्न चुनौती दिँदै उनले पार्टीमा कोही मालिक र कोही दास नभएको बताए।

‘मैले हप्काएर मान्छे बेहोस भयो भनेर प्रचार भएको छ,’ ओलीले भने, ‘मैले कसैलाई हप्काउन पाइँदैन। यहाँ कोही मालिक र कोही दास छैनन्।’ उनले पार्टीभित्र आलोचना र असहमतिको ठाउँ रहेको दोहोर्‍याउँदै नेताहरूले अझ बढी जिम्मेवार व्यवहार र आचरण देखाउनुपर्ने बताए।