‘मेरो जीवनभर नभएको निन्दा तीन दिनमा भयो’ : गगन थापा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो तीन दिनमा आफ्नो जीवनभर नभएको निन्दा भएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको तीनदिने भेलामा आफूविरुद्ध भएका टिप्पणीप्रति संकेत गर्दै यस्तो बताएका हुन्। ‘चुनदेवी कांग्रेसका बारेमा पत्रकारहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु,’ थापाले भने, ‘मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, यो जीवनमा नभएको निन्दा तीन दिनमा आयो।’
कांग्रेसको संस्थापन इतर समूहले पछिल्लो तीन दिन काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको थियो। भेलाका क्रममा सहभागी विभिन्न नेताहरूले पार्टी नेतृत्व तथा सभापति थापाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आलोचना गरेका थिए। सोही सन्दर्भमा थापाले तीन दिनमा आफूविरुद्ध भएको आलोचनाबारे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने संकेत गरेका छन्।
इतर समूहको भेलाबाट पार्टीको आगामी महाधिवेशन, संगठन सञ्चालन, राजनीतिक दिशा तथा नेतृत्वसँग सम्बन्धित विभिन्न विषयमा प्रस्ताव पारित भएको छ। भेलाको समापनसँगै कांग्रेसभित्र नेतृत्व र आगामी महाधिवेशनलाई लिएर आन्तरिक विवाद थप सतहमा आएको देखिएको छ।







